मकवानपुरमा माझी समुदायले मनाए लदी पर्व

मकवानपुर । मकवानपुरमा लदी पर्व मनाइएको छ । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको हो ।
माझी समुदायले विशेष पूजाआजाका साथ आफ्नो प्रमुख चाड लदी पर्व मनाएको हो । नदी छेउमा गई बोका, पाठी, परेवा र कुखुराको बली दिने र मौलिक विधिद्वारा नदीको पूजा गरेर पर्व माझीहरुले हरेक वर्ष लदी पर्व मनाउने गर्छन् ।
लदी पर्वको अवसरमा माझी समुदायको बाहुल्य रहेको मकवानपुरको बामगती र बकैया गाउँपालिकाले मंगलबार सार्वजनिक विदा समेत दिएको थियो ।
पालिकाले लदी पर्वको अवसरमा हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ । मकवानपुरमा करिब ९ हजारको संख्यामा माझी समुदायको बसोबास रहेको छ भने देशभर एक लाख ११ हजारको हाराहारीमा माझीको जनसंख्या रहेको माझी उत्थान संघ मकवानपुरका अध्यक्ष लोकेन्द्र माझीले जानकारी दिए ।