भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन २८,सोमबार १६:३०
सांकेतिक तस्वीर

धनगढी । दार्चुलामा भागेका थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी जवान कैलालीको कैलारी गाउँपालिकाका सोहन चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका उनी लडेर गम्भीर घाइते भएका थिए ।

लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ ।

जबरजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो । थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए ।

कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।