सदस्यता र मतदाता नामावली टुङ्गो लगाएर मात्र अधिवेशन गर्न युनियनको माग
मकवानपुर । नेपाल पत्रकार महासंघको सदस्यता तथा मतदाता नामावलीको टुङ्गो लगाएर मात्रै जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ ।
युनियन मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अधिवेशन गर्नुपूर्व नै सदस्यता र मतदाता नामावलीको टुंगो लगाउनुपर्ने माग गरेको हो । आजै युनियन मकवानपुरद्वारा जारी विज्ञप्ति अध्यक्ष सुवास विडारीले महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेका छन् ।
‘नेपाली श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ सहयोग छ । तर, महासंघ मकवानपुरले सदस्यता शुदीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरुलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएकोमा हाम्रो गम्भीर आपत्ती रहँदै आएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाबाट सदस्यता सिफारिस गरेर पठाउँदादेखि नै हाम्रो गम्भीर आपत्ती रहँदै आएको छ । अध्यक्ष विडारीले भने, महासंघ मकवानपुरले यही चैत २५ गते अधिवेशन गर्ने भन्ने सुनिएकोले सदस्यता र मतदाता नामावली टुंगो नलगाई अधिवेशन नगर्न हामी आग्रह गर्दछौँ ।
उनले युनियनको सुझावलाई बेवास्था गरी अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही महासंघ मकवानपुर नै हुनेसमेत बताए ।
केही दिन अघि प्रेस युनियन केन्द्रीय समितिको सुनसरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा असहमति जनाउँदै सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।