मकवानपुरको बकैयामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मकवानपुर । मकवानपुरको बकैयामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविर बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको आयोजना एवम् नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२, स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोगमा भएको हो ।
बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा. नरेन्द्र मैनाली, डा.अमृत घिमिरे, डा.पवित्रा श्रेष्ठ, डा.बलराम विष्ट, डा.गौरव पन्थ, डा. विवेक नेपाल, डा. लुना गौतम, डा. राजेम श्रेष्ठ र डा. सपना घिमिरेलगायतका ९ जना विशेषज्ञ डाक्टरहरुद्वारा सबै किमिसमा रोगको उपचार गरिएको थियो ।
सो क्रममा १ हजार ३ सय जना बिरामीले सेवा लिएकामध्ये १ सय ७१ जना मिर्गौला रोगका बिरामी फेला परेका छन् । जसमा ३ जनाको भने मिर्गौला फेल भएको बीपी चिन्तन प्रतिष्ठान शिविरका कार्यक्रम संयोजक ध्रुव पाण्डेले जानकारी दिए ।
संयोजक पाण्डेले मिर्गौला फेल भएका ३ जना बिरामीलाई काठमाडौंस्थित धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा रिफर गरिएको बताए ।
उनका अनुसार, शिविरमा साढे ७ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो भने २ लाख रुपैयाँ बराबरको औषधि स्थानीय अस्पताललाई सहयोग पनि गरिएको थियो ।
बकैया गाउँपालिका स्थानीय आयोजक रहेको सो शिविरको शुक्रबार एक कार्यक्रमबीच नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री डीना उपाध्यायले उद्घाटन गरेका थिए ।