शिवम् सिमेन्टको गम्भीर लापरबाहीः कोइलाको सट्टामा प्लाष्टिक बालेपछि फैलियो प्रदुषण

बलराम पुडासैनी
२०८१ बैशाख १३,बिहीबार ११:०७
उद्योगको लापरबाहीविरुद्ध उद्योग परिसरमा नाराबाजी गर्दै स्थानीय

मकवानपुर । हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर लापरबाही गर्दै आएको रहस्य बाहिर आएको छ ।

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको छ । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको सिकार बनिरहेका छन् ।

उद्योगले हेटौंडा उपमहानगरपालिकाको ११ नम्वर वडास्थित फोहोर व्यवस्थापन क्षेत्रमा फ्याकिँएको प्लास्टिक चाउचाउ, विस्कुट, चकलेटका खोललगायत अन्य विभिन्न प्रकारका फोहोरलाई उद्योगको आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्रयोगमा ल्याइरहेको फेला परेपछि उद्योगको लापरबाही सतहमा आएको हो ।

चिकित्सकहरुका अनु्सार प्लाष्टिक जलाउँदा वातावरण प्रदुषण हुने र मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ ।

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरुमा त्यसलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउनको लागि ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरु, शिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । त्यसकारण प्लाष्टिक जलाउँदा मानव स्वास्थ्यमा असर पर्ने जानकारहरु बताउँछन् ।

 

यस्ता विषाक्त तत्वहरुले शरिरका विभिन्न अङ्गहरुमा क्रियाशिल कोषहरुलाई मार्न सक्रिय हुने र खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको शिशु र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मार्ने गर्दछ ।

साथै यसले मोटोपन बढ्ने, पुरुषहरुको स्तन बढ्ने, केटीहरुमा समय पूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरुष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुङ्शकता, बाँझोपन, हार्मोन गडबडी र गर्भ मै बच्चा मर्ने जस्ता समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

त्यस्तै प्लाष्टिक जन्य पदार्थबाट हुने धुँवाले अन्य वस्तुबाट हुने हानीको तुलनामा गुणात्मक असर पारी पाचन क्रियामा समस्या, पेटको समस्या, लिभरको समस्या, फोक्सो र घाँटीको क्यान्सर लगायतका समस्याहरु हुने जानकारहरु बताउँछन् ।

उद्योगले पहुँचका आधारमा प्रदुषण फैलाउने गरेको र आफुहरु विभिन्न रोगबाट ग्रसित भएको स्थानीयले गुनासो गरेका छन् ।

उद्योगले गएराति एक दर्जनभन्दा बढी ट्रकमा फोहोर संकलन गरी उद्योगतर्फ लैजाँदै थियो । स्थानीयले फोहोर उद्योगतर्फ लगिँदैछ भन्ने सुइँको पाएपछि बाटोमै अवरोध गरेका थिए ।

आज विहानै बाट स्थानीयबासी र हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ का वडाध्यक्ष उद्धव सत्याललगायतका जनप्रतिनिधिसमेतको उपस्थितिमा उद्योगको लापरबाहीविरुद्ध नाराबाजी भइरहेको छ ।

उपमहानगरपालिका भन्छः उद्योगले फोहोर लगेको हामीलाई थाहा छैन

उद्योगले फोहोर व्यवस्थापन क्षेत्रबाट फोहोर ढुवानी गरेर लैजाने गरेको विषयमा उपमहानगरपालिकानै बेखबर छ ।

उपमहानगरपालिकाकी वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख सत्यदेवी अधिकारीले आफुहरुलाई यस विषयमा कुनै जानकारी नभएको र तत्कालै बुझेर आवश्यक प्रक्रिया अघि बढाइने बताइन् ।

‘तपाईँले भन्नुभएपछि मात्रै थाहा भयो । यो त गम्भीर लापरबाही हो । हामीलाई यसबारेमा थाहा थिएन, फोहोर व्यवस्थापनका लागि ग्रीन एण्ड क्लिन सिटीसँग सम्झौता भएको छ । उहाँहरुले गल्ने र नगल्ने फोहोर छुट्याउनुहुन्छ र प्रक्रियागत रुपमा त्यसको व्यवस्थापन गर्नुहुन्छ ।’ उनले भनिन् ।

यस विषयमा उद्योगसँग तु खबरले प्रतिक्रिया लिने प्रयास गरिरहेको छ ।