जलवायु परिवर्तनको असर र चिन्तित विश्व
कुनै स्थान विशेषमा ३० वर्ष वा सो भन्दा लामो समयको मौसमको औषत स्थिति त्यहाँको जलवायु हो । लामो समयको अन्तरालमा जलवायुको विभिन्न तत्वहरुमा भएको औषत परिवर्तन नै जलवायु परिवर्तन हो । सामान्यतया जलवायु स्थान र ऋतु विशेष अनुसार स्थिर रहन्छ । तर, पृथ्वीको बायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने भएमा जलवायु परिवर्तन हुन्छ ।
जानकारहरुका अनुसार पृथ्वीमा सौर्य विकिरणमार्फत् तापशक्ति प्राप्त हुन्छ । यही विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलित रहने गर्दछ । पृथ्वीले सूर्यबाट प्राप्त गरेकै जति सौर्य विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँदा मात्रै पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ । तर, कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन भएमा पृथ्वीको वायुमण्डलको तापक्रममा पनि घटबढ भई हावापानीमा परिवर्तन देखिन्छ । जसलाई हामी जलवायु परिवर्तन भन्छौँ ।
हरित गृह ग्याँसको बढ्दो उत्सर्जन मात्रै नभई वनजङ्गलको विनास र क्षयीकरण, औद्योगीकरण, वन डढेलो, भू–उपयोग परिवर्तन, जीवास्म इन्धनको बढ्दो प्रयोग तथा शहरिकरण जलवायु परिवर्तनका कारणहरु हुन् ।
नेपालमा जलवायु परिवर्तनका असरहरुः
जलवायु परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको छ । जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ । मानिसहरुले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेदेखि तापक्रम बढ्दै गएको अध्ययनहरुले देखाएका छन् ।
विशेषगरी जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख देश नभएता पनि यसको असरबाट हामी पर छैनौँ अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, खडेरीजस्ता प्राकृतिक विपद्को जोखिम बढ्नुको साथै वातावरणीय सन्तुलनमा गहिरो असर पुगेको छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु परिवर्ननका कारण उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगवाहक कीरा त्यहाँ पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । जसका कारण मलेरिया, पहेँलो ज्वरो, डेंगु, इन्सेफलाइटिसजस्ता सरुवा रोगको प्रकोप मानव स्वास्थ्यमा दिनप्रतिदिन बढ्दै गएको छ ।
त्यस्तै तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा तापक्रम बढेर हिउँ पग्लने क्रम बढेको छ । कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी सिर्जना हुने र बैकल्पिक स्थानको खोजीमा मानिसहरु समथल भूभागमा थुप्रिँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको पाइन्छ ।
पहाडी क्षेत्रमा बाढी पहिरो जानुका साथै स–साना खोल्सा, पानीको मूल, कुवा आदि सुक्न थालेका छन् । त्यस्तै तराईमा भूमिगत पानीको सतह घट्ने तथा अतिवृष्टि हुँदा डुबानको समस्या देखा परेको छ । स्वच्छ खानेपानीको अभावमा गाउँबस्तीमा बसोवास गर्ने मानिसको दिनचर्या चुनौतीपूर्ण बन्दै गइरहेको छ । यस्ता बस्तीमा पानीको सम्भाव्य स्रोत टाढा हुने तथा नजिकका सोत सुक्दै जाने हुँदा खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा राज्यको ठूलो लगानी खर्च हुने गर्दछ ।
चिन्तित विश्व र अबको बाटो
तापमान बृद्धिले वातावरण, समाज र जनस्वास्थ्य एवम् मुलुकको समग्र अर्थतन्त्रमा हानी पुर्याएरहेको छ । यस्ता असरविरुद्ध साझा अन्तर्राष्ट्रिय प्रयास नै प्रभावकारी बन्न सक्छ । जलवायु परिवर्तन न्यूनिकरणका लागि प्रत्येक देश, क्षेत्र र समुदायको लागि तोकिएको छुट्टाछुट्टै व्यवहारिक समाधानका उपाय आवश्यक पर्दछ । अर्थात् वातावरण अनुकूलनका लागि ठाउँ परिवेश अनुसारका फरक–फरक उपायको खोजी गरी प्रयोगमा ल्याउनु उचित हुन्छ ।
विकसित मुलुकले उद्योग कलकारखाना र यातायातका साधनमा खनिज तेल, ग्यास र कोइलाको विकल्प खोज्नसके धेरै हदसम्म विश्वको तापक्रम घट्ने विज्ञहरुको सुझाव छ ।
त्यस्तै खडेरी वा सुक्खा सहन सक्ने नयाँ बाली प्रजातिहरूको विकास गर्ने, समुन्द्र तट वा नदी वरपर बस्ने समुदायलाई संरक्षण गर्न बाढी प्रतिरोधका उपाय सिकाउने, जलवायु परिवर्तनले ल्याउने प्रकोपको पूर्वसूचना दिने प्रणाली विकास गर्ने, जलवायुजन्य घटनाहरू अत्यन्त तीव्र भएमा त्यसलाई सहन सक्ने पारिस्थितिक प्रणालीहरूको पुनः स्थापना गर्नेतर्फ अब सोच्नुपर्दछ ।
वनजङ्गलले कार्बनडाइअक्साइड सोस्ने गर्दछ । त्यसकारण विश्वमा वनजंगल बढाउन सबैले प्रयत्न गर्नुपर्छ । नेपाल जस्तो मुलकले वनविनाश रोकेर जलवायु परिवर्तन न्यूनिकरणको अभियानमा सहयोग पुर्याउन सक्दछ । डढेलो न्यूनिकरण गर्ने, वृक्षरोपणको अभियान चलाउनुको साथै अनावश्यक वन जङ्गल फडानी, चोरी निकासी जस्ता कार्य रोक्न राज्यले विशेष पहल गर्नुपर्दछ ।
त्यतिमात्रै होइन, सहरी क्षेत्रमा पनि खुला पार्क वा सडकको दायाँबायाँ किनारामा वृक्षरोपण गर्दा सहरी क्षेत्रको सौन्दर्य पनि बढ्छ र मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा प्रकृतिको बरदानको रुपमा पाएका हिमताल र नदीनालाहरु भविष्यमा संकटमा पर्ने निश्चित छ । त्यसो हुँदा हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्ने हुन्छ । नेपालका हिमशृृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृंखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनुपर्छ । जसबाट भू–सन्तुलनमा देखा परेको समस्याको पनि समाधान हुन्छ ।
वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको विकास गर्नुका साथै नागरिकहरुलाई उर्जा बचतको उपाय सिकाउन जरुरी छ । सकेसम्म उद्योग कलकारखानाहरुले कम कार्बन उत्सर्जन गर्ने उपायको खोजी गर्नुपर्दछ । नभए त्यसलाई व्यवस्थित गर्न सक्नुपर्दछ ।
विद्यालय शिक्षाबाटै वातावरण शिक्षाको पाठ्यक्रम समावेश गरी बालबालिकाहरुलाई वातावरण संरक्षणको फाइदाबारे जानकारी दिइनु आवश्यक छ ।
देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरण अनुकूल दीगो रुपमा उपयोग गर्ने, स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्नुपर्दछ । नेपालको संविधानले वातावरण संरक्षण र अनुकूलनका लागि सरकारलाई मार्गनिर्देश गर्ने नीतिलाई अत्मसात् गरेको छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ ।
सडक पूर्वाधार निर्माण गर्दा त्यसबाट वातावरणमा पर्न जाने असरप्रति राज्य सचेत देखिँदैन । नेपालमा तीनै तहका सरकारले अधिकाँश सडक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनलाई बेवास्ता गरेको पाइन्छ । जसका कारण नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।
राज्यले वातावरण संरक्षणका नीति निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो । आम नागरिक सचेत भएमात्रै वातावरण संरक्षणको महान अभियानले सार्थकता पाउन सक्छ । वातावरण संरक्षण भएमात्रै जलवायु परिवर्तन न्यूनिकरण सम्भव छ ।