प्लास्टिक प्रदूषणको चिन्ता र चौथो सत्र
विश्वमा अहिले हरेक वर्ष ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने प्लास्टिक फोहोरहरुले हाम्रो वातावरणमा गम्भीर असर पारिरहेको छ र यसले विश्वका वातावरण विज्ञहरुलाई गम्भीर चिन्तामा पारिदिएको छ । त्यसैले यसको नियन्त्रणका लागि अहिले विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसैसँग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय कार्यक्रम क्यानाडाको ओटावामा अप्रिल २३ देखि २९, २०२४ मा सम्पन्न भयो ।
प्लास्टिक प्रदूषणले हाम्रो दैनिक जीवनमा पारेको प्रभाव र यसको न्यूनिकरणका लागि विश्वलाई एउटै मञ्चमा उभ्याएको थियो, संयुक्त राट्रसंघको वातावरण कार्यक्रमले । प्लास्टिकले मानिसको जीवनमै गम्भीर संकटहरु पैदा गरिरहेको छ । जलवायूमा असर पारिरहेको छ र वातावरणीय चक्र विगारिरहेको छ ।
प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्धीका लागि अहिले छलफल चलिरहेको छ र यसका पक्षमा अन्र्तराष्ट्रिय समुदाय एकैठाउँमा उभिएको छ । विभिन्न देशहरुमा प्लास्टिक प्रदूषण नियन्त्रणका लागि सम्मेलनहरु भएका छन् र त्यसको पछिल्लो कडीको रुपमा वटावा क्यानाडामा सम्मेलन भयो ।
संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमले विभिन्न देशमा प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धि वार्ता र छलफलमा तीव्रता दिँदै आएको छ । खासमा प्लास्टिकले विश्व वातावरणमा पारिरहेको संकट यहि स्थितिमा रहने हो भने थप भयावह हुन सक्ने चिन्ताले यसका विशेषज्ञहरुलाई सताइरहेको छ । त्यसैले भविश्यमा आउन सक्ने डरलाग्दो यो समस्यालाई अहिलेदेखि नै रोक्नुपर्नेमा यसका विज्ञहरु चिन्तित छन् ।
क्यानाडामा अप्रिलमा भएको सामुद्रिक पर्यावरणसहित प्लास्टिक प्रदुषण नियन्त्रणका लागि बाध्याकारी कानूनी संयन्त्र निर्माणका लागि अन्तर सरकारी वार्ता समितिको चौथो सत्र एउटा महत्वपूर्ण सम्मेलन थियो । अब यसले आउँदो नोभेम्बरमा यस सम्बन्धि कानूनहरुलाई अन्तिम रुप दिनेछ । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि महत्वपूर्ण घोषणहरु गर्ने संभावना छ ।
संयुक्त राष्ट्रसंघ पर्यावरण सभाले सन् २०२४ को अन्त्यसम्ममा कानूनी रुपमा बाध्यकारी अन्र्तराष्ट्रिय सन्धी लागू गर्न संकल्प लिएको छ । त्यही संकल्पको आधारमा विभिन्न सत्रहरु भइरहेका छन् । यस अघि पेरिस लगायतका अन्य देशहरुमा यसका सत्रहरु आयोजना भएका थिए ।
प्लास्टिक प्रदूषणको नियन्त्रणका लागि भइरहेका विश्व सम्मेलनहरुले यसबारे विश्व कति चिन्तामा छ भन्ने कुराको पुष्टि गर्दछ । प्लास्टिक प्रदूषण नियन्त्रण जरुरी छ भन्ने कुरामा विश्व एक ठाउँमा भएपनि कसरी गर्ने र यसका अन्य प्रावधानहरुबारे भने एकमत हुन सकिरहेको छैन । जे जस्तो भएपनि आउँदो पाँचौ सत्रले यसबारे पक्कै पनि केही ठोस् निर्णय गर्नेछ ।
घरबाटै सुरु गरौँ प्लास्टिकको प्रयोगमा कटौती
प्लास्टिक प्रदुषण नियन्त्रणका लागि घरबाटै सुरुवात गर्न आवश्यक छ । व्यवस्थापनमा एउटा भनाई छ, मसिना कुराहरु मिलाउँ, ठूला कुरा आफै मिल्दै जानेछ । यसैलाई मूलमन्त्र मनेर भन्ने हो भने हामीले दैनिक रुपमा घरमै प्लास्टिकको प्रयोगलाई नियन्त्रण गर्न सक्यौँ भने त्यसले पक्कै पनि प्लास्टिक प्रदुषणको नियन्त्रणलाई न्यूनिकरण गर्न सकिन्छ । अझ ठूला र धेरै जनसंख्या भएका देशहरुले यसलाई कार्यान्वयन गर्ने हो भने यो अझै प्रभावकारी हुन सक्दछ ।