बागमती प्रदेश सभाबाट धन्यवादको प्रस्ताव बहुमतले पारित

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १७:५३

मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेश सभाका बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले सदनमा टेबुल गरेसँगै प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले प्रदेश प्रमुख शर्मालाई धन्यवाद प्रस्ताव सदनमा पेश गरेका थिए ।

ढकालले पेश गरेको धन्यवाद प्रस्तावलाई प्रदेश सभा सदस्य मधुसुदन प्रसाद पौडेलले समर्थन गरेका थिए । उक्त प्रस्ताव सदनबाट बहुमतले पारित भएको छ ।

धन्यवादको प्रस्ताव पारित भएसँगै सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको आजको बैठक स्थगित गरेका छन् । सभामुख पाठकले प्रदेश सभाको अर्को बैठक यही जेठ १६ गते दिउँसो ३ः३० बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

१६ गते बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।