बागमतीको नीति तथा कार्यक्रममाथि छलफल सुरु

तु खबर संवाददाता
२०८१ जेष्ठ १६,बुधबार १९:२५

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सार्वजनिकरण गरेको उक्त नीति तथा कार्यक्रममाथि आज बसेको प्रदेश सभा बैठकमा छलफल भएको हो ।

बैठकमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिएका थिए । बैठकमा ११ जना प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उनीहरुले सरकारले ल्याइएको नीति तथा कार्यक्रममा प्रत्यक्ष रोजगारीलाई समेट्न औद्योगिक क्षेत्रको विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता नदिएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले पूराना औद्योगिक क्षेत्रको समस्या बुझि ती उद्योगहरुलाई संचालनमा ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्यहरुले कृषिलाई उत्पादनमूखी बनाउने कार्यमा नीति तथा कार्यक्रममा थप कार्यगत योजनाहरु समावेश नभएको भन्दै सरकारले अब प्रदेशको पायक पर्ने स्थानमा प्राङ्गरिक मल काराखानाको स्थापनाको लागि बजेट विनियोजन गर्नुपर्ने माग गरे ।

सो बैठकमा प्रदेश सभाका सदस्यहरुले प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको छनौट भएका योजनालाई मात्र आगामी वर्षको बजेटमा समावेश गर्न आग्रह गरे ।

मौसमी परिवर्तनसँगै वन डढेलोबाट हुने मानवीय एवम् वन्यजत्तु, पशुपक्षीमा हुने क्षतिलाई न्यूनिकरण गर्न स्थानीय निकायलाई प्राविधिक उपकरणसहित प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने बताएका थिए ।

उक्त नीति तथा कार्यक्रममाथि छलफल हुनुअघि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सभामा छलफल गरियोस् भनि टेबुल गरेका थिए ।

बागमती प्रदेश सभाको अर्को बैठक भोलि बिहान १० बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराए ।