ट्रम्प ३४ मुद्धामा दोषी ठहर, सजाय निर्धारण जुलाई ११ मा

गिरिजा अधिकारी, न्युयोर्क
२०८१ जेष्ठ १८,शुक्रबार ०५:०९
Photo by - Gage Skidmore

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको म्यानहाटनको एक जुरीले झुठो व्यापार अभिलेख राखेको एक मुद्धाको सबै ३४ वटै अभियोगमा दोषी ठहर गरेको छ ।

पोर्नस्टार स्टोर्मी डानियललाई चुप लागी बस्नका लागि तिरेको रकम र सो रकमलाई ट्याक्स फाइल गर्दा कानूनी खर्चको रुपमा देखाएको सन्दर्भमा लगाइएका सबै अभियोगहरुमा उनलाई जुरीले दोषी ठहर गरेको हो ।

सन् १९१६ को चुनावको अखण्डतालाई कमजोर पार्न षड्यन्त्रहरुमा लागेको र गैरकानूनी योजनामा भाग लिएको आरोप लागेको थियो । पोर्नस्टारलाई चुप लगाउन रकम दिएको विषय लुकाइएको थियो ।

आफ्ना कानून व्यवसायीमार्फत् पोर्नस्टार डानियललाई दिएको रकम कानूनी खर्चको रुपमा ट्याक्स फाइलमा सूचीबद्ध गरिएको सन्दर्भमा लगाइएका ३४ अभियोगमध्ये सबै अभियोगहरुमा ट्रम्प दोषी ठहर भएका हुन् ।

डानियललाई दिइएको रकम, उनका कानून व्यवासायी कोहेनलाई दिएका अन्य अतिरिक्त भुक्तानीहरु सबै कम्पनीको ट्याक्स फाइल गर्दा कानूनी खर्चको रुपमा देखाइएकोमा उनी दोषी ठहर भएपछि उनीमाथिको सजाय निर्धारणका लागि जुलाई महिनाको ११ तारिकका दिन तोकिएको छ ।

न्यायाधीश हुआन मर्चनले ट्रम्पमाथि हुने सजायका लागि जुलाई ११ को दिन तोकेका छन् । सो दिन ट्रम्पमाथि के सजाय हुने र त्यसको अवस्था र अवधिबारे सुनुवाई हुनेछ ।