नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बागमती प्रदेश सभा बैठक बस्ने
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो ।
जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सार्वजनिकरण गरेको उक्त नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिइरहेका छन् ।
आजको बैठकमा पनि सोही छलफललाई निरन्तरता दिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार, आज बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरुले उठाएका प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने जनाइएको छ ।