सशस्त्र प्रहरीद्वारा १ करोड १ लाख नगद बरामद
काठमाडौं । सशस्त्र प्रहरीले गएराति सुनसरीबाट हुण्डीको आशङ्कामा १ करोड १ लाख नगद रकम बरामद गरेको छ ।
जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट उक्त अवैध रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार, हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको सो रकम बरामद गरिएको हो ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको प्रहरीले जनाएको छ ।
रकमसँगै कार र चालक सुनसरीको हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी बर्ष ३७ का ईसा अन्सारीलाई समेत नियन्त्रणमा लिइएको छ ।
नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।