‘माओवादीको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ’
![](https://www.tukhabar.com/wp-content/uploads/2024/06/kumari-moktan.jpg)
मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताएकी छन् ।
माओवादी केन्द्र कैलाश गाउँपालिका स्तरीय जबस मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने भन्दै हुने भएको भए पहिले नै सुशासनको अभियान प्राथमिकतामा रहने जिकिर गरिन् ।
मन्त्री मोक्तानले भनिन्, “माओवादीमा सहि विचार र नेतृत्व भएकोले नै संस्थागत भ्रष्टाचारमा ठुला पार्टीका ठुला नेताहरुको नाम जोडिदा पनि यो अभियान निर्भिकतापूर्वक अगाडी बढेको छ ।”
कार्यक्रममा नेकपा माओवादी मकवानपुरको जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे ।
त्यसैगरी, माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्न सक्नुपर्ने बताए ।
संयुक्त भेलाले सुजाता फूयककालको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योंग कम्युनिष्ट लिग, नेपाल, रामकृष्ण थिंगको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र गठन गरेको छ ।
त्यसैगरी, विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, राम सरन सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन गरेको छ ।
यसैगरी, जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामांग राष्ट्रिय मुक्ति मोर्चा, रामचन्द्र चेपाङ्गको नेतृत्वमा १५ सदस्यीय चेपाङ्ग राष्ट्रिय मुक्ति मोर्चा र शेरबहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको छ ।