मकवानपुरसहित २८ जिल्लामा वृद्धा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १८:१९
file-photo

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धा भत्ता) नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।

यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मकवानपुरसहित २८ जिल्लामा वृद्धा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

ती जिल्लाहरुमा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले जानकारी दिए ।

ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका/वडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उनले बताए ।

पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन् ।

विभागले बुधबार सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा भने परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जानकारी गराएको छ ।