किशोरीहरुलाई सुरक्षा तथा आत्मरक्षा सम्बन्धी तालिम

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:३७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका किशोरीहरुलाई सुरक्षा तथा आत्मरक्षा सम्बन्धी तालिम दिइएको छ । किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा एक सय ५० किशोरीहरूलाई तालिम दिइएको हो ।

कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए ।

भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरूलाई थप सहजता होस् भन्ने उद्देश्यले किशोरीहरुलाई उक्त तालिम प्रदान गरेको पालिका अध्यक्ष मोक्तानले बताए ।

अध्यक्ष मोक्तानले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समेट्दै गाउँपालिकाका सबै छात्राहरूलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मंगलबार कैलाश–९, स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिएको थियो । तालिम पश्चात् किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।

बुधबार कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।