कुलेखानी जलाशयको सतह घटेपछि…

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:५३
file-photo

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा अवस्थित कुलेखानी जलाशयको सतह घटेपछि विद्युत् उत्पादन पनि घटेको छ ।

६० मेगावाट उत्पादन क्षमताको उक्त आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।

पानीको सतह घटेकाले उत्पादन पनि घटेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेको छ ।

पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्त्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले बताए ।

समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनले बताए । सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो ।

मंगलबार पानी परेपछि थप पानी जम्मा भएको छ । वि.सं. २०५८ पछि यस वर्ष पानीको सतह धेरै घटेको उनले बताए ।