मनसुन सुरु, पूर्वतयारी तथा प्रतिकार्य योजना खोई ?
नेपालमा वर्षायाम सुरु भएको छ । असार र साउन महिना बढी वर्षा हुने समय हो । नेपालमा वर्षेनी बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर जस्ता प्रकोपबाट मानवीयसँगै ठूलो परिमाणको भौतिक क्षति हुने गरेको छ ।
प्रकोपबाट बँच्न पर्याप्त सावधानी नअपनाउँदा नै क्षति हुने गर्दछ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्व तयारी तथा प्रतिकार्य योजना नबनाउनु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नरहनु विडम्बना हो । विपत्तिसँग जुध्न दीर्घकालिन उपायको खोजि नगर्दा हामी एउटै समस्याबाट वर्षेनी पीडित भइरहेका छौँ ।
सरकारले प्रत्येक वर्ष मनसुनजन्य विपदलाई लक्षित गर्दै राहत, उद्धारजस्ता प्रतिकार्यका योजना बनाउने गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकिरहेको छैन ।
हरेक मनसुनमा कहीँ न कहीँ बाढीपहिरो आउँछ, कतै डुबान हुन्छ । बर्खामा जनधनको क्षति हाम्रो नियति नै बन्न पुगेको छ । तर, विपद् प्राकृतिक भए पनि हामीले पर्याप्त होसियारी अपनाउन सक्यौं र प्रतिकार्यको तयारी बेलैमा गर्यौँ भने क्षति न्यूनीकरण हुनसक्छ । तर, हामी यसमा सँधै चुक्दै आएका छौँ ।
ठूला–ठूला जोखिम, विपत्ति र संकटमा सूचना प्रविधिको पर्याप्त प्रयोग देखिँदैन । बाढी, पहिरोको पूर्व सूचनाले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्छ । जति सक्दो छिटो सुधार गरेर प्रविधिलाई सार्वजनिक सेवा प्रवाहमा अधिकतम उपयोग गर्दै जनताको दैनिक जीवन सहज बाउन आवश्यक देखिन्छ । प्रकोपलाई चाहेर पनि रोक्न सकिंदैन तर उचित रुपमा व्यवस्थापन गरियो भने ठूलो परिमाणमा जनधनको क्षति रोक्दै राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ ।
गत वर्षको १२४ दिने मनसुनको समयमा विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ । २०७८ मा मनसुनको सुरु भएसँगै सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपहिरोले कैयौंको ज्यान लियो भने हजारौँलाई उठीबास लगायो । नेपालको सन्दर्भमा मनसुनको यो प्रवृत्तिले सुरुवातमै विपद् आउने आँकलन गर्न सकिन्छ । त्यसकारण मनसुन भित्रिनुपूर्व नै विपद्कै बेला र विपद्पछिका लागि आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष ३५ देखि ५५ प्रतिशतसम्म अधिकाँश भू–भागमा वर्षाको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनमा ४ लाख १२ हजार घरधुरी प्रभावित हुने अनुमान गरेको छ । जसमध्ये ८३ हजार घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित हुने र करिब १८ हजार परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान छ ।
भौगोलिक अध्ययनबिना नै जथाभाबी खनिएका सडकका कारण पहिरोको जोखिम बढेको छ । भूकम्प पछि पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । पहाडबाट पहिरो सोहोरिएर नदी–खोलामा बग्दा किनाराका बस्ती बग्न सक्छन् । मधेशमा डुबानको त्रास छ । पानीको बहाव छेकिने गरी भारतले पारिपट्टि सडक, रेलमार्ग र बाँध बनाएका कारण सीमावर्ती विभिन्न बस्तीका बासिन्दा बर्खा लाग्नासाथ डुबानको डरमा हुन्छन् । तर, मनसुनपूर्व नै आवश्यक तयारी नगर्ने प्रवृत्ति घातक बन्दै गइरहेको छ ।
विपद् प्रतिकार्यलाई संघ सरकारले आफूमा केन्द्रीकृत गरिरहेको छ । विपद्पछि क्षतिपूर्ति वितरण र पुनःस्थापनाका लागि लम्बेतान प्रक्रियाले पीडितहरू थप समस्याबाट गुज्रिरहेका छन् । विपद् प्रतिकार्यको वर्षौं लामो अनुभवपछि पनि पाठ सिकेर प्रक्रियालाई सरलीकरण नबनाएको देख्दा उदेक लाग्छ ।
सरकारले जोखिमयुक्त स्थानमा साइरन प्रणाली जडान गर्नुपर्छ । बाढीपहिरोको सधैं जोखिममा रहेको बस्तीलाई स्थानान्तरण पनि गर्नुपर्छ । विपद्मा कोही परिहाले तत्काल उद्धार एवं राहत वितरणमा जुट्न सक्ने गरी संयन्त्रहरू तम्तयार राख्नुपर्छ । विपद्बाट विस्थापितलाई जतिसक्दो छिटो पुनःस्थापना गर्ने गरी राज्यले भूमिका निर्वाह गर्नुपर्छ । मनसुनजन्य विपद् बढी हुन नदिन जथाभाबी सडकजस्ता संरचना निर्माण, नदी–खोला दोहनजस्ता मानवीय क्रियाकलापको नियमन पनि जरुरी छ ।