थाहा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकरण

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार १७:३५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । शुक्रबार नगरपालिकाको १६ औं नगरसभामा नगर प्रमुख विष्णबहादुर विष्टले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिकरण गरेका हुन् ।

नगरपालिकाले कृषि, पशु, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै २ सय ३९ बुँदामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

खाद्यान्नमा आत्मनिर्भर बनाउन मकै र धानको हाइब्रिड बिउँमा अनुदानको व्यवस्था गर्ने नीति लिएको नगर प्रमुख विष्टले जानकारी दिए । उनले आलुको घट्दो उत्पादनलाई मध्यनजर गर्दै तालिमको माध्यमबाट कृषकहरुलाई दक्ष बनाई उन्नत जातको बिउँ उपलब्ध गराई उत्पादन बृद्धि गराउने लक्ष्य रहेको बताए ।

त्यसैगरी, सार्वजनिकरण गरिएको नीति तथा कार्यक्रममा गाईभैंसीमा नश्ल सुधारको कार्यक्रम सञ्चालन गरी पशुको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, नगरको विकट बस्तिहरुमा निःशुल्क पशु शिविर सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारको लागि नगरपालिकाले जाउँ है थाहा क्याम्पियन सञ्चालन गर्ने, सिमभञ्ज्याङ र चित्लाङमा पर्यटन सूचना केन्द्रको शुभारम्भ गरिने उल्लेख गरिएको छ ।

यस्तै, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्तामा २० प्रतिशत छुट दिने, नगरको १२ वटै वडामा निजी क्षेत्रसंगको समन्वय र साझेदारीमा संयुक्त घुम्ती शिविरहरु सञ्चालन गरिने, आगामी आर्थिक वर्षभित्र संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिने उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।