‘विभिन्न योजनाहरुलाई छनौट गरी बजेटको बाँडफाड’
मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले विभिन्न योजनाहरुलाई छनौट गरी बजेटको बाँडफाड गरिएको बताएका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री थपलियाले प्रदेश नीति योजना आयोगको मार्गनिर्देशन र प्रदेश सभा सदस्यहरुको सिफारिस बमोजिम बजेट ल्याइएको बताए ।
उनले संघीयतालाई बलियो बनाउन बजेटको निर्माण र वितरण प्रणालीमा नयाँपन ल्याउनुपर्ने भन्दै बजेट निर्माणको परम्परागत प्रणालीबाट प्रदेश र राष्ट्रको समृद्धि हुन नसक्ने बताए ।
मन्त्री थपलियाले आगामी आवको लागि बजेट प्रस्तुत हुँदा र बजेटको पुस्तिका छापिने क्रममा केही प्राविधिक त्रुटीहरु भएको बताउँदै आगामी दिनमा त्यस्ताखालको त्रुटी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले आगामी आवको बजेटले अब जनताको चाहाना बमोजिम सिफारिस भई आएका पूराना योजनाहरुलाई करिब ५० प्रतिशत रकम उपलब्ध गराउँदै लैजाने प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दलहरुबीच सहमति भएको पनि उल्लेख गरे ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै प्रतिपक्ष दलका सांसदहरूले बिहीबारको प्रदेश सभा बैठकमा अवरोध गरेका थिए ।
प्रतिपक्ष दलहरुको अवरोधका कारण शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा निर्धारित समयमा सुरु हुन नसकेपछि सूचना टाँस गरेर २ बजेसम्मका लागि स्थगित गरेको थियो ।
सूचना टाँस गरेर २ बजेसम्मका आह्वान गरिएको बैठक पनि निर्धारित समयभन्दा ३ घण्टापछि मात्रै सुरु भएको थियो । सरकार पक्ष र प्रतिपक्ष दलबिच पाँच बुँदे सहमति भएसँगै प्रदेश सभाको अवरोध हटेको र बैठक संचालन भएको हो ।
प्रदेश सभाको अर्को बैठक असार ११ गते मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।