चीनका उपविदेशमन्त्री वेइडोङ नेपाल आउँदै

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १०:१९

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउने भएका छन् ।

भोलि मंगलबारदेखि काठमाडौंमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् ।

बैठकमा दुई देशबिचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबिच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने जनाइएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनियाँ सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

यसैबिच तीन दिने नेपाल भ्रमण सकेर उनी १२ गते स्वदेश फर्किने कार्यसूची रहेको छ ।

उपविदेशमन्त्री सुनले त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

संयन्त्रको १५ औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।