बागमती प्रदेश सभा बैठकः मन्त्रालयगत छलफल प्रारम्भ
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा मन्त्रालयगत एकमुष्ट छलफल प्रारम्भ भएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को विभिन्न शिर्षक अन्तरगत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको हो ।
बैठकमा खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय गरी पाँच वटा मन्त्रालयको विषयमा एकमुष्ट छलफल प्रारम्भ भएको हो ।
उक्त मन्त्रालयको छलफलको क्रममा सत्तापक्ष र प्रतिपक्षका गरी २१ जना प्रदेश सभाका सदस्यहरुले भाग लिएका थिए । छलफलमा सहभागी हुँदै उनीहरुले राष्ट्रिय सरोकारलगायत बजेटमाथि सुझाव र सल्लाहहरु दिएका थिए ।
उनीहरुले विनियोजित बजेटले भौतिक पूर्वाधारको विकासको साथै आर्थिक समृद्धिलाई जोड्ने र कृषि उत्पादनलाई आधुनिकरण गर्ने क्रममा बजेट विनियोजित गरी प्राथमिकता पाउनुपर्ने आग्रह गरे ।
यसैगरी, सरकारले ल्याएको बजेट असन्तुलित, पूर्वाग्राही र जनतालाई भरोसा दिलाउनेखालको नभएकोले अब सरकारले प्रतिपक्षहरुसँग सहमति गरे अनुरुपको योजनालाई पूर्णर मूल्याङ्कन गरी बजेट थप्न गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
प्रदेशको १३ वटै जिल्लामा खानेपानी, विद्युतीकरण, पक्की पुल, सडक निर्माणलगायत बहुवर्षीय योजनालाई कार्यान्वयन गर्न वर्तमान सरकारले बजेट विनियोजित गर्दा आग्रह–पूर्वाग्राही राखिएको भन्दै उनीहरुले उनीहरुले जनताको हक–हितका लागि के–कस्तो खालको योजनालाई कार्यान्वयन गर्नुपर्ने हो त्यसतर्फ मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेमा बताएका थिए ।
साथै उनीहरुले प्रदेश सरकारले प्रदेश नीति योजना आयोग र प्रदेश बैंकबाट क्रमशः प्रदेशको विभिन्न भूगोल अनुसार बहुवर्षीय योजना र राष्ट्रिय गौरबको योजनालाई छनौट गरी कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उल्लेख गरे ।
बागमती प्रदेश सभाको अर्को बैठक भोलि असार १२ गते बिहान ११ः२० बजेको समयमा बस्ने गरी आह्वान गरिएको छ ।