४ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

तु खबर संवाददाता
२०८१ असार १३,बुधबार १५:५५
file-photo

काठमाडौं । देशका विभिन्न ४ जिल्लामा बुधबार भारी वर्षा भएको छ । पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको बुधबार साढे ३ बजेको अध्यावधिक विवरणअनुसार, पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा गरिएको रेकर्ड अनुसार पछिल्लो १२ घण्टामा १२६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, कल्याणपुर स्टेनमा १६० दशमलव ६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५ दशमलव ८ र १२४ मिलिमिटर वर्ष भएको छ ।

यसैगरी, झापाको चेकनामा १२६ दशमलव ४ र कास्कीको लामापाटनमा ६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।

यसैबिच सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।