मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार ०९:०६

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेका ७० जना बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

चैनपुर स्थित प्रजा जागृति माध्यमिक विद्यालय परिसरमा आइतबार भएको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतिबिन्दु बिरामी ९५ वर्षिया मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया कार्यको सुरुवात गरिएको थियो ।

शिविरमा ५ सय ७८ जनाले आँखाको परिक्षण गरिएका थिए भने ८५ जनाको मोतियाबिन्दुका बिरामी फेला परेका थिए । तीमध्ये सम्पर्कमा आएको ७० जनाको निःशुल्क शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पताल हेटौंडाका कार्यक्रम संयोजक डा.सुशील कुमार सिंहले जानकारी दिए ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा शिविर संचालन गरिएको पालिकाका अध्यक्ष मल्लले बताए । उनका अनुसार, शिविर गत असार १२ देखि १५ गतेसम्म सञ्चालन भएको थियो ।