‘भिसा डेट’ होल्ड गरेर ठगी गर्ने ८ जना सीआईबीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ असार २०,बुधबार १७:२५

काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा हुनेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा रहेका छन् भने अन्य दुई जनाको नाम खुलाइएको छैन ।

अनलाइनमार्फत् भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार, उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको छ ।

३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर, भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

सीआईबीको नियन्त्रणमा रहेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको खुल्न आएको छ ।

उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।