३४ लाख सर्वसाधारणलाई बाढीसम्बन्धी एसएमएस
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकैदिन ३४ लाख सर्वसाधारणलाई एसएमएस सम्प्रेषण गरेको छ ।
विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म उत्तल संख्याको सर्वसाधारणलाई एमसएमएस सम्प्रेषण गरेको हो । मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन उनीहरुलाई एसएमएस सम्प्रेषण गरेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार, बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाइएको हो ।
यस्तै, विभागका महानिर्देशक डा.जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने योजना बनाएको बताए ।