बागमती गाउँपालिकाको बजेटविरुद्ध अदालतमा रिट दायर
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासलमा रिट निवेदन दायर गरिएको छ ।
पालिका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित ४ जना वडाध्यक्षले असार १० गते प्रस्तुत नीति, कार्यक्रम र बजेटविरुद्ध आइतबार रिट निवेदन दायर गराएका हुन् ।
उपाध्यक्ष तिमल्सिनासहित बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, वडा नम्बर ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, ७ नम्बरका वडाध्यक्ष उत्तरबहादुर भोलनले हेटौंडा–५ का प्रभाकर रेग्मीलाई वारेस नियुक्त गरी अदालतमा रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति दफा ६६ को श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति र दफा ६७ बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन नै नगरी गैरकानुनी ढंगबाट नीति, कार्यक्रम र बजेट ल्याउन लागिएको उल्लेख गरिएको छ ।