बागमतीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

तु खबर संवाददाता
२०८१ असार २८,बिहीबार १०:२१
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री जम्कट्टेललाई महत्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

नेता लामाद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उल्लेख गरिएको छ ।

साथै सो विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा भनिएको छ ।