नापी कार्यालयका सर्वेक्षक घुस रकमसहित पक्राउ

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १०:३२
file photo

ललितपुर । ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जना  पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई पक्राउ गरेको हो । उनीहरुलाई बिहीबार घुस रकमसहित पक्राउ गरिएको हो ।

जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।