नयाँ सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिले संविधानविदहरुलाई बोलाए

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १७:२१
file-photo

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व निरन्तरताको लागि प्रतिनिधिसभाबाट विश्वासको मत जुटाउन सक्ने अवस्था नदेखेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका हुन् ।

संविधानविदहरु डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल, शम्भु थापा, गोपालकृष्ण घिमिरेलगायतलाई बोलाइएको छ । उनीहरुसँग बेलुकी पौने ६ बजे राष्ट्रपति भवनमा नयाँ सरकार गठनको प्रक्रियाबारेमा छलफल सुरु हुने जनाइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा अब बन्ने सरकार गठनको प्रक्रियाबारे संविधाानविहरुले नै फरक मत राखिरहेका छन् ।

एकथरीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने मत राख्दै आएका छन् । अर्काथरी धारा ७६ (३) बमोजिम गठन हुने दाबी गरिरहेका छन् ।

यदि संविधानको धारा धारा ७६ (२) बमोजिम नयाँ सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने छ । त्यसका लागि कांग्रेस र एमालेले सहमति गरिसकेका छन् ।

तर, धारा ७६ (३) बमोजिम गठन हुने अवस्थामा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।