प्रधानमन्त्रीमा केपी ओली नियुक्त
काठमाडौं । प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए ।
सो आह्वानलगत्तै शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।
ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भने भोलि सोमबार मात्रै हुनेछ । यसअघि आइतबार नै शपथ ग्रहण गराइने भनिएपनि समय अपुग भएकाले सोमबार मात्रै शपथ कार्यक्रमको आयोजना गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार, सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ ।