सिमलताल पहिरोः १९ जनाको शव फेला
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ ।
गत असार २८ गते शुक्रबार बिहान साढे ३ बनेको समयमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुमध्ये १९ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, फेला परेको शवमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको सनाखत हुन बाँकी रहेको छ । उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौंबाट गौरको लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
अन्य शव र बसको खोजी कार्य जारी रहेको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिएको छ ।