आँखा शिविरको आज दोस्रो दिन, ७६ जनाको परीक्षण

तु खबर संवाददाता
२०८१ श्रावण ९,बुधबार १७:३८

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरको आज दोस्रो दिन ७६ जनाले सेवा लिएका छन् ।

मंगलबारदेखि हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको आँखा परीक्षण शिविरमा बुधबार ७६ जनाले सेवा लिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रवप्रसाद अधिकारीले जानकारी दिए ।

पछिल्लो समय मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढ्दै गएको र त्यस्ताखाले बिरामीको आँखालगायत शरिरको विभिन्न अंगहरुमा असर पार्ने गरेको बताउँदै नगर समन्वय समितिका अध्यक्ष अधिकारीले त्यस्ता समस्या हुनबाट समयमै सचेत गराउन उक्त आँखा जाँच कार्यक्रमको आयोजना गरेको बताए ।

उनका अनुसार, बुधबार हेटौंडा–१९ स्थित नेवारपानी सहरी स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिएको थियो ।

यसअघि मंगलबार भएको शिविरमा ९० जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये मधुमेहका कारण २० जना बिरामीको आँखामा समस्या देखिएको छ ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको शिविरमा हेटौंडा–१९ का सदस्य रमा गोले, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्राविधिक मिनबहादुर रोकाया, टोल विकास वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।