सिमलताल पहिरोः अध्ययन कार्यदलद्वारा समय थप्न माग
काठमाडौं । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुई वटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलले समयावधि थप्न माग गरेको छ ।
गत असार २८ गते शुक्रबार अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर त्रिशुली नदीमा बेपत्ता दुई वटा बस र त्यसमा सवार यात्रुहरुबारे अध्ययन गर्न सह–सचिव छवि रिजाल नेतृत्वको उक्त कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ ।
यसअघि १० दिनको समय दिइएको उक्त कार्यदलले समय थप्न माग गरेको हो । कार्यदलको प्रस्ताव अनुसार, बिहीबार त्यसबारे निर्णय गरिने गृह मन्त्रालयले जनाइएको छ ।