भारतको पुणेमा भएको विस्फोटमा परेर एक नेपालीको मृत्यु
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित विस्फोटमा परेर एक जना नेपाली कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ वर्षीय अजय कुमार बजरंगी प्रसाद मौर्य रहेको प्रहरील जनाएको छ ।
प्रहरीका अनुसार, जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा भएको विस्फोटमा परेर उनको मृत्यु भएको हो । उनी कारखाना परिसरमै बस्दै आएका थिए ।
बिहीबार खाना पकाउन स्टोभ (चुल्हो) बाल्न केही केमिकल प्रयोग गर्दा सोही केमिकल पड्किएर उनको शरीरको विभिन्न भाग जलेको थियो । उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले समाचार छापेको छ ।
उक्त घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।