महेन्द्र माविका विद्यार्थीलाई सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उर्तिण विद्यार्थीलाई सम्मान गरिएको छ ।
सो विद्यालयमा अध्यापन गरी एसईई परिक्षा र कक्षा १२ मा उत्कृष्ट नजिता ल्याई उर्तिण हुने विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख अतिथिमा भएको हो । सो क्रममा मेयर लामाले शिक्षालाई व्यवहारिक बनाउन जरुरी रहेको बताइन् ।
उनले शैक्षिक प्रमाणपत्रमा मात्र सिमित रहेको शिक्षालाई प्रबिधि मैत्री बनाउँदै अघि बढाउन जरुरी रहेको भन्दै शैक्षिक सुधारका लागि उपमहानगरले काम गरिरहेको उल्लेख गरिन् । न्युनतम शिक्षा पूरा भएपछि थप शिक्षाका लागि आफैले रोजगारीको अवस्था बनाउँने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ ।
सो अवसरमा विद्यालयका लागि २ लाख ५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने चन्द्रबहादुर वाईबालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्य उत्तम गोम्जा, टोल बिकास संस्था वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, पदमपोखरी क्याम्पसका प्रमुख निबन्ध लामा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोबिन थिङ, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।