राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो ।
सो बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ ।