आज प्रतिनिधि सभा बैठक पनि बस्ने, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो ।
उक्त बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ ।
यसैगरी, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।