मकवानपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८१ भाद्र ७,शुक्रबार १६:१०

मकवानपुर । मकवानपुर जिल्लाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना पुष्टि भएसँगै कुल संख्या ६४ पुगेको हो ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ७ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमण पुष्टि हुनेमध्ये महिनाको संख्या धेरै छन् । सो अवधिमा ४१ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १३ पुरुष र २१ महिला गरी ३४ जना, मकवानपुरगढी गाउँपालिकाका ३ पुरुष र ५ महिला गरी ८ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका एक जना महिला, मनहरी गाउँपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक महिला, भीमफेदी गाउँपालिकाका ४ जना महिला, बकैया गाउँपालिकाका ३ पुरुष र ४ महिला गरी ७ जना, राक्सिराङ गाउँपलिकाका एक जना महिला र अन्य जिल्लाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सो अवधिमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।