पशुपति क्षेत्रमा मासु र मदिरामा प्रतिबन्ध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हरितालिका तिजको समयमा पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा प्रतिबन्ध लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सो क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा रोक लगाएको बताए ।
सूचनामा भनिएको छ, ‘यही भदौ २० गतेदेखि भदौ २२ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।’
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यो लागु हुने जारी सूचना भनिएको छ ।
साथै कोही कसैले यो सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।