असोज १३ गतेदेखि सफा र सुकिलो नोट साट्न पाइने

तु खबर संवाददाता
२०८१ भाद्र २७,बिहीबार १०:२८
file-photo

मकवानपुर । नेपाल राष्ट्र बैंकले यस पटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि सफा तथा सुकिला नोट सटही सुविधा दिने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै बडा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।

सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सकिने जनाइएको छ ।

बैंकले विगतका वर्षका एक पटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने जनाएको छ ।

सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।

चाडबाँडका समयमा मुख्यतयाः रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ ।