संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म माओवादीले अवरोध कायम राख्ने

तु खबर संवाददाता
२०८१ भाद्र २८,शुक्रबार १७:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायम राख्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय गरेको प्रमुख सचेतक पाण्डेले बताए ।

यस्तै, सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए ।

संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएपनिका थिए । सभामुख घिमिरेले भने हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएपछि उनको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।