बागमती प्रदेश सरकारले पहिरो पीडितलाई १० लाख प्रदान गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाका पहिरो पीडितलाई १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
प्रदेशको विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले पहिरो पीडितलाई लक्षित गरी तत्काल राहत तथा पुर्नस्थापनका लागि १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापको विपत् व्यवस्थापन कोषमा जम्मा हुने गरी रकम निकासा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
उनका अनुसार, उक्त रकम विपत व्यवस्थापन, विपतबाट असर परेका र पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्ति संरक्षण, विपतबाट पीडितलाई राहत, घाइते वा बिरामीको उपचार, विपतका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदानलगायतका कार्यका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपत् व्यवस्थापन कोषबाट प्रदान गरिनेछ ।
गत भदौ ८ गते राति वर्षासँगको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको मझुवा, सल्लेटार, पात्ले, मङ्सिरेलगायतका क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो ।
पहिरोले गाउँमा बस्न जोखिम भएपछि अति सीमान्तकृत थामी समुदायका ४३ घर–परिवार चिहानडाँडा तथा सडकमा त्रिपाल टाँगेर १८ दिनदेखि सामूहिक रूपमा बस्दै आएका छन् ।
यसअघि रामेछाप जिल्लामा विपदमा परेकालाई राहत एवम् पुर्नस्थापनाका लागि प्रदेशको कोषबाट ३० लाख रुपैयाँ गइसकेको सूचना अधिकृत कार्कीले बताइन् ।