नागरिकता समस्या समाधान गर्न पाँच सदस्यीय अध्ययन समिति गठन

तु खबर संवाददाता
२०८१ भाद्र ३१,सोमबार १८:००

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समाधान गर्नका लागि सोमबार अध्ययन समिति गठन गरेको छ ।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहेका छन् ।

समितिलाई असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय सीमा दिइएको छ । उक्त समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको हो ।

साथै उक्त समस्याको समाधानमा विद्यमान कानुनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधि लगायतका विषयमा सुझाव दिन पनि भनिएको छ ।

सोमबार बिहान गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको सहभागितामा नेपाली नागरिकता प्रमाणपत्र जारी तथा व्यवस्थित गर्ने कार्यविधि २०८१ को मस्यौदामाथि छलफल भएको थियो ।