प्रदेश सभाको बैठकमा तीन वटा विधेयकको प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश सभाको आइतबार बसेको बैठकमा विभिन्न तीन वटा विधेयकको प्रतिवेदन पेश भएको छ ।
बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन पेश भएको हो ।
उक्त प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले सभामुख भुवनकुमार पाठकको अनुमतिमा पेश गरेका हुन् ।
यसैगरी, उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका छन् ।
यस्तै, सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरको क्रममा सांसद् किरण थापा मगरको स्थानमा सांसद् एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराए ।
यसैगरी, उक्त बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षकको छैठौं वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए ।
सत्तापक्षका प्रदेश सभाका सदस्य केशव प्रसाद पोखरेलले राखेका ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख भुवनकुमार पाठकले बताए ।
उक्त प्रस्तावमा काठमाडौं जिल्लाको चन्द्रगिरी नगरपालिका वडा नम्वर ९ को २ (ख) मा विद्युतको उच्च भोल्टेज भएको ट्रास्फरमिटर राखिएको जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट बञ्चित भएकोले प्रदेश सरकारमार्फत् नेपाल विद्युत प्राधिकरणले ती सर्वसाधारण नागरिकहरुलाई क्षतिपूर्ति दिन माग गरे ।
प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि असोज ७ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा आइतबार पेश गरिएको तीन वटा विधेयकमाथि छलफल हुने सभामुख पाठकले बताए ।