प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार ०६:३०
नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता हुँदै ।तस्बिर : प्रधानमन्त्री ओलीको प्रोफाइल ।

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन आएका दुबै देशका प्रधानमन्त्रीबीच आज साइडलाइन वार्ता भएको हो ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल तथा अमेरिकास्थित नेपाली राजदुत, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतका सहभागी थिए ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसहित विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतकाको उपस्थिति रहेको थियो ।
वार्तामा दुइ देशका संयन्त्रलाई सक्रिय बनाएर समस्या समाधान गर्ने कुराकानी भएको छ ।

यसैगरी, प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवम् प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघका लागि कुबेतको स्थायी नियोगको कार्यालयमा भेटवार्ता भएको हो ।