हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा सवारी संचालनमा रोक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा आजबाट १२ दिन (असोज ८ गतेदेखि असोज १९ गते) सम्म सवारी संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दक्षिणकाली–छैमले खण्ड कालोपत्रे गर्ने भएकोले उक्त सडकखण्डमा सवारी संचालनमा रोक लगाइएको हो ।
सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातिर्थ सडकबाट संचालन गर्न आग्रह गरिएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सिस्नेरी सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।
प्रहरी नायव उपरीक्षक भण्डारीले हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकखण्डमा भने हाल सवारीसाधन संचालन भइरहेको बताए ।