हेटौंडा–१५ मा नदिजन्य पदार्थ चोरी निकासी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार ०९:५१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा नदिजन्य पदार्थ चोरी निकासी उत्खनन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम हेटौंडा–१५ वडा कार्यलयको आयोजनामा बुधबार भएको हो ।

नदिजन्य पदार्थको रोकथाम गर्नको लागि सम्बन्धित कायहरु सब डिभिजन बन कार्यालय, इलाका प्रहरी कार्यलय पशुपतिनगर, हेटौंडा उपमहानगरपालिकाको कार्यालय, टोल विकास संस्था, स्थानीय वन समिति र प्रभावित क्षेत्रको स्थानीयहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमबारे प्रष्ट पार्दै वडा अध्यक्ष सुनिल मुक्तानले वडा कार्यलयदेखि प्रहरी कार्यलय, वन कार्यालय, नगर पालिकाको कार्यालयको सेटिङ्ग्मा चोरिनिकासी भएको भन्ने जनगुनासो आएकोले सम्बन्धित निकायको सहभागितामा उक्त कार्यक्रमको आयोजना गरेको बताए ।

उनले सबै भन्दा बढी दायित्व स्थानीयको भएको भन्दै त्यस विषयमा मिलेर रोकथाममा गर्न सकिने बताए । उनले यस्तो अवैध चोरी निकासी भएको पाए तुरुन्त सम्बन्धित निकायमा खबर गर्न पनि स्थानीयहरुलाई आग्रह गरे ।

छलफल कार्यक्रममा पछिल्लो समय हेटौंडा–१५, हरियाली टोल आसपासमा अवैध नदिजन्य पदार्थको चोरी निकासी अत्याधिक भइरहेको स्थानीयहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा टोल विकास समितिको अध्यक्ष श्वोता लामाले ट्याक्टर छेक्न जाँदा आफै माथी आक्रमणको प्रयास हुने गरेको बताए । यस्तै, स्थानीय सूर्य बहादुर घलानले ट्याक्टर समातेर कारबाही अगाडि बढाउन खोज्दा आफै माथी मुद्दा लगाउने सम्मको कार्य भएको बताए ।

जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाको कार्यलय प्रहरी कार्यालय लगायतका सम्बन्धित निकायमा गुनासो राख्दा सम्बोधन नभएको उनीहरुको भनाई छ ।

यस्तै, सो क्रममा हेटौंडा उपमहानगरपालिको राजस्व शाखाका नवीन सुबदीले नगरपालिका जताततै खोला नाला र खहरे भएको र नगरपालिकामा श्रोत साधन कमी भएको कारण अनुगमनमा समस्या भएको बताए ।

नगर प्रहरीहरुलाई फिल्डमा पठाएका बताउँदै गत भदौसम्म कुनै पनि रसिद नगरपालिकाले नकाटेको उनले बताए । उनले नगर पालिकाले नियम अनुसार काम गरिरहेको पनि जानकारी गराए ।

सव डिभिजन वन कार्यालयकी सबिना रिजालले आइ.ई.ई नगरेको ठाउँबाट ढुङ्गा बालुवा निकाल्नु नै अबैध रहेको भन्दै नगरपालिकाले रसिद काटेर पनि ट्याक्टर छोड्नु गैरकानुनी भएको बताइन् ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी इन्स्पेक्टर बिमला कठायतले समस्या पर्दा प्रहरीको तर्फबाट सुरक्षा दिन कुनै कमी नछोड्नी प्रतिबद्धता जनाइन् ।