क्यान्सर रोगको उपचार र नियन्त्रणमा अनुसन्धान गर्न आवश्यकः राष्ट्रपति
चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक रहेको औल्याएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेले यस्तो औल्याएका हुन् ।
साथै उनले त्यसका लागि आवश्यक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गरे ।
उनले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको भन्दै यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व रहेको बताए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला क्यान्सर रोगबाट ग्रसित भई विदेश गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमै यस रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गरेको उनले स्मरण गराए ।
उनले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए ।