बागमती प्रदेशः छुटेका योजनालाई सुझाउन कार्यदल गठन
मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटमा छुटेका योजनालाई सुझाउन कार्यदल गठन गरिएको छ ।
चालु आवको बजेट प्रदेश सभाबाट पारित भएर कार्यान्वयनमा आएको दुई महिनाभन्दा लामो समयपछि प्रदेशका प्रदेश सभा सदस्यको छुटेका योजनाका बारेमा सुझाव दिन कार्यदल गठन गरिएको हो ।
प्रदेशका विभिन्न विषयगत मन्त्रालयमा चालु आवको बजेटमा प्रदेश सभा सदस्यको छुटेका योजना थप गर्न र रकम अपुग भएका योजनामा रकम थप गर्न सुझाव दिन कार्यदल गठन गरिएको हो । उक्त कार्यदल प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सहभागिता रहेको सर्वदलीय बैठकबाट गठन गरिएको हो ।
उक्त कार्यदलमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा (एमाले) का प्रमुख सचेतक मधुसूदन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादो का वसन्तप्रसाद मानन्धर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।
सर्वदलीय बैठक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको थियो ।
चालु आवको कार्यक्रम र योजना कार्यान्वयन गर्न ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको छ ।