भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो अवरुद्ध
मकवानपुर । भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।
ईन्द्रसरोबर गाउँपालिका–२, सुकौरास्थित बिहान साढे ९ बजे वर्षासँगै आएको पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, सो पहिरो स्थानीय, प्रहरी, सडक डिभिजनका प्राविधिकले हटाउने प्रयास भइरहेको छ ।
बाटो अबरुद्ध भएसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग जान प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै, पहिरोका कारण अवरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड भने हाल संचालनमा आएको छैन ।
बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२, घट्टेपाखास्थित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो । उक्त पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।
यसैगरी, हेटौंडाबाट काठमाडौंतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड, पूर्व–पश्चिम राजमार्गमा भने यातायात संचालन भइरहेको छ ।